२०७८ चैत्र १०, बिहीबार १७:२८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसमक्ष पेस गरेको उजुरी केन्द्रीय सदस्य तथा सांसद रेखा झाले पहिले नै प्रेसलाई दिएको भन्दै केन्द्रीय कमिटी बैठकमा रेखाको सातो लिएका छन् ।

रौतहटकी समानुपातिक सांसद झाले स्थायी कमिटी सदस्य प्रभु साहविरुद्ध अध्यक्ष ओलीलाई सम्बोधन गरेर उजुरी दिएकी थिइन्, सो पत्र उनले अध्यक्ष ओलीभन्दा अगाडि नै मिडियामा दिएको र आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेपछि अध्यक्ष ओली चिढिएका हुन् । विहीबार बैठकलाई समापन मन्तव्य दिँदै अध्यक्ष ओलीले पार्टीको हुर्मत लिने काम नगर्न निर्देशन दिदै अनुशासनमा नबस्ने भए पार्टी छाडेर जान चेतावनी दिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार झाले अध्यक्ष ओलीलाई पत्र बुझाउनु अघि नै पत्रकारलाई दिएकोले जग हसाउने काम नगर्न ठाडो निर्देशन दिएका हुन । ठूला नेताको विरोध गर्दा लोकप्रीयता हासिल हुन्छ भन्ने तल्लो स्तरको मानसिकता त्याग्न समेत अध्यक्ष ओलीले सांसद झाको ध्यानाकर्षण गराएका हुन् ।

“आफ्नो सम्बोधनको प्रारम्भमै अध्यक्ष कमरेडले रेखा झाले मलाई एउटा पत्र दिनुभयो तर म भन्दा पहिला मिडियलाई दिनुभएछ भन्नुभयो । लगत्तै अध्यक्ष कमरेड हल्का आक्रामक बन्नुपर्यो । उहाँले माननीय रेखा झालाई तपाईले किन यस्तो जग हसाउने काम गर्नुहुन्छ ? पार्टीभित्रका कुरा पार्टीमा राख्ने हो चोकमा होइन ।” अध्यक्ष ओलीलाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, “ठूला नेताको विरोध गरेर लोकप्रीयता हासिल हुन्छ भन्ने नीच सोच त्याग गर्नुस् । एमाले अनुशासनमा चल्ने पार्टी हो, अनुशासन मान्ने भए पार्टीमा बस्नुस् नभए समयमै आफ्नो बाटो लागे हुन्छ ।”

रेखा झाले बोल्न समय माग्दा समेत अध्यक्ष ओलीले बस्नुस भनेर झपारेका थिए । सामान्यतया बैठकमा कुनै पनि केन्द्रिय सदस्यले हात उठाउदा बोल्न दिइन्छ तर उनलाई ओलीले बोल्न दिएनन् । पछिल्लो केही दिन यता रेखा झाले पार्टीको आधिकारिक निर्णयमा चल्नुको सट्टा आफुखुशी अरुको रुचिमा राजनीतिक गतिविधि गरेको भनी अध्यक्ष ओलीलाई जानकारी भएपछि उनले अन्य नेताहरुलाई पनि पार्टी लाइन भन्दा बाहिर नजान निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय